मनु यादव निरज : सिरहा । लागुऔषध अपराध अनुसन्धान तथा नियन्त्रणमा पुर्‍याएको योगदानको कदर गर्दै प्रहरी निरीक्षक विशाल मल्ललाई ‘उत्कृष्ट लागुऔषध अपराध अनुसन्धानकर्ता पुरस्कार’ प्रदान गरिएको छ।

इलाका प्रहरी कार्यालय महेशपुरपतार, सिरहामा कार्यरत मल्ललाई नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित ७१औँ प्रहरी दिवस २०८३ का अवसरमा सम्मान गरिएको हो।

प्रहरीका अनुसार मल्लले हातहतियारसहितका लागुऔषध कारोबारीसँग दुई पटक दोहोरो झडप हुँदा प्रहरी टोलीलाई सुरक्षित राख्दै अभियुक्त नियन्त्रणमा लिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले भारतबाट बालबालिकाको प्रयोग गरी नेपालमा लागुऔषध पठाउने सञ्जालका मुख्य व्यक्तिसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गर्न पनि सफलता प्राप्त गरेका थिए।

त्यसैगरी, सामान्य सवारी दुर्घटनाको घटनाबाट मोबाइल फोनको विश्लेषण र बयानका आधारमा अनुसन्धान अघि बढाउँदै लागुऔषध कारोबारको ठूलो सञ्जालसम्म पुग्न सफल भएको प्रहरीको भनाइ छ।

लागुऔषध अपराधको रोकथाम तथा वैज्ञानिक अनुसन्धानमा पुर्‍याएको योगदान, व्यावसायिक निष्ठा र कार्यदक्षताको कदर गर्दै मल्ललाई उक्त पुरस्कार प्रदान गरिएको हो।