मनु यादव निरज : सिरहा — बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयविरुद्ध स्थानीयवासीको आन्दोलन थप चर्किएको छ । स्थानीयले साँझ मसाल जुलुस निकाल्दै प्रधानमन्त्रीको पुतला दहन गरेका छन् ।
भन्सार पुनःस्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय तथा व्यवसायीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले भन्सार हटाउँदा सीमा क्षेत्रको व्यापार, रोजगारी तथा राजस्व संकलनमा प्रत्यक्ष असर परेको बताएका छन् ।
आन्दोलन संयोजक विनोद यादव ले सरकारले स्थानीयको आवाज बेवास्ता गरेको आरोप लगाउँदै भन्सार हटेपछि तस्करी बढ्ने जोखिम रहेको बताए । आवश्यक परे पदबाट राजीनामा दिन पनि तयार रहेको उनको भनाइ थियो ।
प्रदर्शनमा विद्यार्थी जनमत संघका केन्द्रीय संयोजक पोषण यादव लगायत युवाहरूको समेत सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले सरकारको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएका छन् ।
स्थानीय व्यापारी चन्देश्वर यादव का अनुसार भन्सार सञ्चालनका लागि स्थानीयवासीले १ कठ्ठा १७ धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए । उनका अनुसार उक्त भन्सार कार्यालयबाट मासिक ८ देखि १० लाख रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको थियो ।
यस्तै, स्थानीय अगुवा जिवछ साह ले सीमा क्षेत्रमा निगरानी कमजोर हुँदा अवैध गतिविधि बढ्न सक्ने बताए । माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी स्थानीयले दिएका छन् ।


















