जनकपुर । क्रिकेटको मैदानमा प्राप्त हुने उपलब्धिलाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘सिक्सेस फर हर फ्युचर’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन गरेको छ ।

 

जनकपुर बोल्ट्सकी युवा एम्बेसडर डा. सरीषा श्रेष्ठको नेतृत्वमा अघि बढाइएको अभियानमा आर्क्स ग्रुप सहयोगी प्रायोजकका रूपमा जोडिएको छ । आर्क्स ग्रुपले अभियानका लागि प्रारम्भिक १ लाख ५० हजार रुपैयाँको शैक्षिक सहयोग कोष स्थापना गरेको छ ।

 

अभियानअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) मा सहमतिअनुसार तोकिएका खेलमा जनकपुर बोल्ट्सले लिने प्रत्येक विकेट र प्रहार गर्ने प्रत्येक छक्काबापत २ हजार रुपैयाँ छात्राहरूको शिक्षाका लागि योगदान गरिनेछ ।

 

जनकपुर बोल्ट्सले पहिलो खेलमा ९ विकेट लिनुका साथै ५ छक्का प्रहार गरेको थियो । त्यसबाट विकेटबापत १८ हजार र छक्काबापत १० हजार रुपैयाँ गरी कुल २८ हजार रुपैयाँ संकलन भएको हो ।

 

‘हरेक छक्काले उनको भविष्यलाई अगाडि बढाउँछ’ भन्ने सन्देशसहित अघि बढाइएको अभियानले मधेश प्रदेशका आर्थिक रूपमा विपन्न छात्राहरूलाई शिक्षामा पहुँच बढाउन र विद्यालय शिक्षालाई निरन्तरता दिन सहयोग गर्ने लक्ष्य राखेको छ ।

 

अभियानमार्फत कम्तीमा १० जना छात्रालाई शैक्षिक सहयोग उपलब्ध गराउने योजना छ । संकलित रकमबाट विद्यालय पोसाक, पुस्तक तथा शैक्षिक सामग्री, परीक्षा शुल्क र यातायात खर्चलगायत शिक्षालाई निरन्तरता दिन आवश्यक खर्चमा सहयोग गरिनेछ ।

 

आर्थिक अवस्था कमजोर भएका र विभिन्न कारणले विद्यालय छाड्नुपर्ने जोखिममा रहेका छात्रालाई प्राथमिकतामा राखेर लाभग्राही छनोट गरिने जनाइएको छ । त्यसका लागि स्थानीय विद्यालय तथा शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थासँग सहकार्य गरी छात्राको आवश्यकता पहिचान, सहयोग वितरण र शैक्षिक निरन्तरताको अनुगमन गर्ने योजना छ ।

 

खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । जनकपुर बोल्ट्सको मैदानभित्रको प्रदर्शनबाट संकलित रकमले मधेशका विपन्न छात्राहरूको शैक्षिक भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रारम्भिक १ लाख ५० हजार रुपैयाँको कोषसँगै जनकपुर बोल्ट्सका आगामी खेलमा लिइने विकेट र प्रहार गरिने छक्काका आधारमा अभियानमा थप रकम संकलन हुने अपेक्षा गरिएको छ ।