काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज केही पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा पनि आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ।

मङ्गलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा पनि आंशिक बदली रहनेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, रातिको समयमा तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।