हेटौँडा । मकवानपुरको हेटौँडामा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोकका ४२ वर्षीय विनोद लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सोमबार साँझ हेटौँडा उपमहानगरपालिका–१, सामरीस्थित हेटौँडा–भैँसे सडकखण्डमा हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी लोड बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको बा.४७ प ८४६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका लामालाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतकको सनाखत उनकी श्रीमती सरस्वती रुम्बाले गरेकी हुन्। शव हेटौँडा अस्पतालमै राखिएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




















