सिरहा । सिरहामा कार्तिक १२, १३ र १४ गते भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गरी सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।

प्रशासनले वर्षा हुनुअघि नै काटिसकेका अन्नबालीको उचित व्यवस्थापन गर्न तथा नकाटिएका अन्नबाली उक्त अवधिमा नकाट्न अनुरोध गरेको छ।

त्यसैगरी, बलान र कमला नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक उक्त अवधिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा कार्तिक १० गते जारी सूचनामार्फत सम्भावित भारी वर्षाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैलाई सचेत रहन अनुरोध गरिएको छ।