मनु यादव निरज : सिरहा ।सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार बुधबार राति करिब १२ बजेर १७ मिनेटको समयमा नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो।


बोर्डर आउट पोस्ट (बीओपी) नवराजपुरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको सात जनाको मोटरसाइकल गस्ती टोलीले गाँजा बरामद गरेको हो। तस्करहरूले टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएका थिए।


बरामद गाँजा नौवटा बोरामा राखिएको थियो। कालो प्लास्टिकमा प्याक गरिएको उक्त गाँजाको प्लास्टिकसहित कुल तौल १५२.१६ किलोग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।


सशस्त्र प्रहरीका एसपी सुमन जंग थापाका अनुसार बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।