काठमाडौं । अवसर पाएपछि प्रतिभा देखाउन उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् १६ वर्षीय राहुल यादव। ट्यालेन्ट हन्टमार्फत जनकपुर बोल्ट्सको टोलीमा स्थान बनाएका राहुलले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई टोलीको भरपर्दो बलरका रूपमा स्थापित गर्न थालेका छन्।
काठमाडौं गोर्खाजविरुद्धको खेलमा चार विकेट लिएपछि राहुल अहिले चर्चाको केन्द्रमा छन्। उनले आफ्नो धारिलो बलिङबाट विपक्षी टोलीका ब्याटरलाई दबाबमा राख्दै जनकपुरको जितको आधार तयार गर्न महत्त्वपूर्ण भूमिका खेले।
काठमाडौंविरुद्ध राहुलले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। उनले स्मित पटेल, साम हेजलेट, करण केसी र मोहम्मद आदिल आलमलाई आउट गरे। यही प्रदर्शनका कारण उनी खेलको उत्कृष्ट खेलाडीसमेत घोषित भए।
राहुलको बलिङको विशेषता विकेट लिने क्षमता मात्रै होइन, विपक्षी टोलीलाई सुरुदेखि नै दबाबमा राख्ने शैली पनि हो। उनले लगातार दोस्रो खेलमा आफ्नो पहिलो बलमै विकेट लिएर सबैको ध्यान खिचे। काठमाडौंविरुद्ध पहिलो बलमै अस्ट्रेलियाली ओपनर साम हेजलेटलाई विकेटकिपर मोइन अलीको हातबाट क्याच आउट गराउँदै उनले आफ्नो प्रभाव देखाए।
त्यसपछि छैटौँ ओभरमा बलिङ गर्न आएका राहुलले फेरि पहिलो बलमै विकेट लिए। यसपटक भारतीय मूलका अमेरिकी ब्याटर स्मित पटेल उनको सिकार बने। पटेललाई कप्तान हर्मित सिंहको हातबाट क्याच आउट गराएपछि राहुलले काठमाडौंको ब्याटिङमाथि थप दबाब सिर्जना गरे।
१७औँ ओभरमा बलिङ गर्न फर्किएका राहुलले ओभरको अन्तिम दुई बलमा लगातार विकेट लिए। उनले काठमाडौंका कप्तान करण केसी र आक्रामक ब्याटर मोहम्मद आदिल आलमलाई पवेलियन फर्काए।
अन्तिम ओभरमा केही महँगा साबित भए पनि राहुलले त्यसअघि नै विपक्षी टोलीलाई ठूलो क्षति पुर्याइसकेका थिए। उनको प्रदर्शनले जनकपुरको बलिङ आक्रमणलाई थप मजबुत बनाएको छ।
डेब्यु खेलमै देखाएका थिए क्षमता
राहुलको प्रभावशाली प्रदर्शन काठमाडौंविरुद्ध मात्रै सीमित छैन। उनले कर्णाली याक्सविरुद्धको डेब्यु खेलमै पहिलो बलमा विकेट लिएका थिए। उक्त खेलमा चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिएका उनले दीपक डुम्रे र पाकिस्तानी अलराउन्डर हुसेन तलातलाई आउट गरेका थिए।
दुई खेलमा छ विकेट लिइसकेका राहुलले एनपीएलको सुरुआतमै आफ्नो बलिङ क्षमता प्रमाणित गरेका छन्। पहिलो खेलमा किफायती बलिङ गरेका उनले दोस्रो खेलमा चार विकेट लिँदै आफ्नो प्रभाव अझ बढाएका छन्।
४४६ खेलाडीमध्येबाट जनकपुरको टोलीमा
रौतहटको बौधिमाई नगरपालिका–१ का राहुल चन्द्रपुर क्रिकेट एकेडेमीमा क्रिकेट अभ्यास गर्दै आएका खेलाडी हुन्। जनकपुर बोल्ट्सले आयोजना गरेको ट्यालेन्ट हन्टमा सहभागी ४४६ खेलाडीमध्ये आफ्नो प्रतिभा देखाएर उनले टोलीमा स्थान बनाएका थिए।
स्थानीय स्तरमा क्रिकेट खेलिरहेका राहुलका लागि एनपीएलमा छनोट हुनु करियरको महत्त्वपूर्ण अवसर थियो। जनकपुरले पहिलो खेलदेखि नै उनलाई प्लेइङ ११ मा समावेश गरेर विश्वास देखायो। राहुलले पनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै त्यो विश्वासलाई सार्थक बनाउने संकेत दिएका छन्।
ट्यालेन्ट हन्टबाट सुरु भएको राहुलको यात्रा अहिले सम्भावनाको नयाँ ढोका खोल्ने चरणमा पुगेको छ। सुरुआती दुई खेलमा देखाएको प्रदर्शनलाई निरन्तरता दिन सके उनले नेपाली क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाउन सक्छन्।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभाव जमाउन सक्ने तीव्र गतिका बलरको आवश्यकता छ। यस्तो अवस्थामा राहुलजस्ता युवा खेलाडीको उदयले आशा जगाएको छ। तर, सुरुआती सफलतालाई दीर्घकालीन उपलब्धिमा बदल्न निरन्तर अभ्यास, अनुभव र प्रदर्शनमा स्थिरता कायम राख्नु उनका लागि उत्तिकै महत्त्वपूर्ण हुनेछ।



















