काठमाडौं : गएको नौं महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ ।

नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए । उनीहरुलाई नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा बुधबार उद्धार गरिएको हो ।

सेनाको कब्जामा रहेका उनीहरूलाई बुधबार भने युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको संघले जनाएको छ । गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्सको उडानमार्फत शुक्रवार दिउँसो काठमाडौँ आउने छन् ।