काठमाडौं : नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ।
शनिबार दाङको देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले मधेश प्रदेशलाई १ सय ९३ रनले पराजित गरेको हो। २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो।
मधेशका लागि दीपेश दासले सर्वाधिक ३१ रन जोडे। त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रन बनाएको थियो। पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन जोडेका थिए। जितसँगै पुलिसले खेलेको सबै ४ खेलमा नै अपराजित रहँदै ८ अंक बनाएको छ। पराजित मधेशको ३ खेलमा २ अंक रहेको छ।



















