मनिष यादव,- सिरहा - सिरहा नगरपालिका–१७, पटेर्वामा रामअशिष यादव स्मृति प्रतिष्ठानद्वारा स्थापना गरिएको ‘कन्सेप्चुअल कोचिङ सेन्टर’ को उद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सो अवसरमा बोल्दै प्रतिष्ठानका संरक्षक तथा ब्रजमोहन झबुराम माध्यमिक विद्यालय माडरका पूर्व प्रधानाध्यापक बेचु साहले यो सार्वजनिक कार्यक्रम आफूका लागि जीवनको अन्तिम हुनसक्ने बताएका छन्।
"अब म कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्दिन। यो घरबाहिरको जीवनको अन्तिम सार्वजनिक कार्यक्रम हो," साहले भने। शारीरिक अस्वस्थताको कारण उनले घरबाहिरको कार्यक्रममा जान नसक्ने स्पष्ट पार्दै, रामअशिष यादवको शिक्षाप्रतिको लगाव र पुरानो सम्बन्धका कारण यो कार्यक्रममा सहभागी हुन सकेको बताए।
साहले भने, “२०३६ सालमा म माडरको ब्रजमोहन झबुराम माविमा प्रधानाध्यापक थिएँ। पछि रामअशिष पनि प्रधानाध्यापक बने। शैक्षिक चिन्तन र समर्पणको प्रभावमा म कार्यक्रममा आएको हुँ।”
उनले विगतको शिक्षाको अवस्था सम्झँदै भने, “हाम्रो समयको शिक्षामा यति धेरै राजनीतिक प्रभाव थिएन। अहिले शिक्षा क्षेत्रमा राजनीति हावी भइसकेको छ, जसका कारण गुणस्तर खस्किएको छ। शिक्षालयभित्र राजनीतिक गतिविधि बढ्नु दुःखद हो।”
“शिक्षकले निर्धारण गरिएको समयमै कक्षामा पुग्नुपर्ने नियम थियो। अनुशासन थियो। तर अहिले शिक्षक राजनीतिक गुटमा विभाजित भएका छन्। समयमै कक्षा नलिने र अनुशासनको पालना नगर्ने प्रवृत्ति बढेको छ,” उनले दुःख व्यक्त गरे।
शिक्षण पेशालाई सुधार गर्न शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो। “राजनीतिक गतिविधि शिक्षा सुधारका लागि हो भने ठीक छ, तर त्यसको नाममा द्वन्द्व सिर्जना गरियो भने नकारात्मक असर पर्छ,” उनले स्पष्ट पारे।

वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता रामरिझण यादवले स्व. रामअशिष यादवको योगदानलाई स्मरण गर्दै भने, “उहाँले आफ्ना छोरालाई शिक्षित बनाउँदै दुबैलाई डाक्टर बनाउन प्रेरणा दिनुभयो। बाल्यकालदेखि विज्ञान र गणितमा दक्ष बनाउनु भएको थियो। अहिले दुबै छोराले निःशुल्क रूपमा डाक्टरी पढाइ गरे।”
“रामअशिष यादव एक आदर्श शिक्षकमात्र नभई समाजसेवी पनि हुनुहुन्थ्यो। उहाँका अधुरा सपना आज उहाँका सुपुत्र डा. कृष्णा यादवले पूरा गर्दै छन्,” उनले उल्लेख गरे। रामरिझणले स्वयं पनि महिनामा दुई दिन कक्षा संचालन गर्ने प्रतिबद्धता जनाए।
प्रतिष्ठानका अध्यक्ष डा. कृष्णा यादवले विपन्न, गरिब तथा कक्षा ८, ९, १० का विद्यार्थीलाई लक्षित गरी निःशुल्क कोचिङ सेन्टर संचालन गर्न लागिएको बताए। “जरा बलियो भयो भने हाँगाबिँगा आफैं सशक्त हुन्छन्,” उनले भने। “बुवाले शिक्षण गरिरहनुभएको विद्यालयबाटै यो पहल थालिएको हो।”
उद्घाटन समारोह प्रतिष्ठानका उपाध्यक्ष चन्देश्वर गोइतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. १७ का वडाध्यक्ष उमेश कुमार यादव, ब्रजमोहन झबुराम माविका प्राचार्य जयचन्द्र यादव, व्यवस्थापन समितिका अध्यक्ष काशी यादव, समाजसेवी अनिरुद्ध ठाकुर, बुद्धिजीवी चन्देश्वर प्रसाद यादव लगायतले रामअशिष यादवको योगदानबारे मन्तव्य राखेका थिए। समारोहमा सकलदेव यादवले स्वागत मन्तव्य राखेका थिए।


















