काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल भएको छ । गृहमन्त्री रमेश लेखकको आतिथ्यतामा भएको कार्यक्रममा सशस्त्र प्रहरीले विपद्को पूर्वतयारीका लागि भइरहेको कामबारे जानकारी गराएको थियो ।
कार्यक्रममा गृहमन्त्री लेखकले अबको समय भनेको मनसुनको पूर्व सन्ध्या भएकोले सबै सुरक्षा निकायहरुलाई विपद् उद्धार कार्यमा तत्काल परिचालन हुनसक्ने गरी तयारी हातलमा राख्नुपर्ने बताए।
विगतका घटनाहरुबाट पाठ सिकेर त्यही अनुसारको योजना बनाई अघि बढ्नुपर्ने बताउँर्द यसवर्ष भारी वर्षाको सम्भावना भएको कारण विपद् उद्धारका सामाग्रीसहित सशस्त्र प्रहरी बल नेपालका सबै युनिटहरुमा जनशक्ति तयारी हालतमा राख्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।
कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद्को समयमा सबै निकायहरुसँग समन्वय र सहकार्य गर्न जरुरी रहेको बताउँदै विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।
निमित्त संगठन प्रमुख समेत रहेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालले विगतको पूर्वतयारी अन्तर्गत चालिएका कदमहरुलाई कार्यक्षेत्रमा अक्षरस पालना गर्दै यस वर्षको मनसुन प्रतिकार्य योजना, २०८२ तयार भईसकेको र सोही अनुरुप सशस्त्र प्रहरी बल नेपालका ८ वटा बाहिनी मुख्यालय, २ वटा तालिम शिक्षालय, १ वटा गण, ९ वटा वेश र २ वटा रेस्क्यु टावरमा उच्चस्तरीय उद्धार सामाग्रीसहित सुरक्षा फौज तैनाथ राखिएको जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण जनशक्तिलाई तयारी हालतमा राखी २ हजार ४ सय ८१ जना विपद् व्यवस्थापन र १ सय २८ जना गोताखोर तालिम प्राप्त जनशक्तिलाई विशिष्टिकृत उद्धार सामाग्रीसहित सातवटै प्रदेशमा परिचालन गरिएको उनको भनाई छ ।

‘कि–रेस्पोण्डर’को रुपमा विपद् प्रतिकार्यमा परिचालन हुनका लागि ९ वटा विपद् व्यवस्थापन वेश स्थापना भएकोमा आगामी मनसुन प्रतिकार्यको लागि थप न्यूनतम ३५ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश समेत स्थापना गरिने लक्ष्य रहेको एआइजी पौडेलले बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दीगविजयी सुवेदीले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, क्षमता, तयारी र प्रतिकार्य योजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गृहमन्त्रालय सुरक्षा तथा व्यवस्थापन महाशाखाका सह–सचिव रामचन्द्र तिवारी, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह–सचिव डा.टोकराज पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव रोशनी श्रेष्ठ लगायत गृहमन्त्रालयका पदाधिकारीहरु र सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।


















