मनु यादव निरज- सिरहा । भगवानपुर बजार र गमहरिया चौकको बीचमा रहेको एउटा स्थान, जुन विगतमा ‘डोमराही’ र ‘मुसहरी’ जस्ता जातीय विभाजन झल्काउने नामले चिनिन्थ्यो, अहिले सामाजिक समावेशी सोच र एकताको प्रतीक बनेर ‘युवा चौक’ को नयाँ पहिचान पाउन थालेको छ।
स्थानीय युवाहरूको पहल, सक्रियता र समुदायको सहकार्यमा अब त्यो ठाउँ जातीय पहिचानका सीमित शब्दहरूबाट मुक्त हुँदै सबैको साझा चौकको रुपमा चिनिन थालेको हो।
स्थानीय युवा अभियन्ताहरूले लामो समयदेखि यस क्षेत्रको सामाजिक समरसता र सद्भाव बढाउने प्रयास गर्दै आएका थिए। उनीहरूका अनुसार नाम मात्र बदलिएको होइन, सोच बदल्ने यात्रा सुरु भएको छ।
हामीले आफ्नै गाउँठाउँमा एकताको सन्देश दिन चाहेका हौं। यस ठाउँलाई सबै जात, धर्म र समुदायको साझा चौक बनाउने सोचले नै ‘युवा चौक’ को नाम राख्यौं, एक जना स्थानीय युवा अगुवा प्रविन्द यादवले भने।
अर्का स्थानीय बासिन्दा मुनिया देवी भन्छिन्, पहिले यो ठाउँको नाम सुन्दा नै मानिसहरूबीच दूरी बढ्थ्यो। अब सबैलाई अपनत्व हुनेगरी राखिएको नामले मन खुशी भएको छ।यो नाम परिवर्तन अभियान केवल सांकेतिक होइन।
स्थानिय युवाहरूले उक्त चौकमा सरसफाइ, वृक्षारोपण, सडक पेन्टिङ जस्ता गतिविधिहरूको योजना पनि बनाएका छन्। भविष्यमा सामाजिक जागरण कार्यक्रम, कला–सांस्कृतिक कार्यक्रम र खुला छलफल आयोजना गर्दै थप सकारात्मक परिवर्तन ल्याउने उनीहरूको तयारी रहेको छ।
स्थानीय सरकारका प्रतिनिधिहरूले पनि यस परिवर्तनको स्वागत गरेका छन्। गाउँपालिका अध्यक्षले भने, युवाहरूको यो सोच हाम्रो समाजका लागि उदाहरणीय छ। यसलाई अन्य ठाउँले पनि अनुकरण गर्नु राम्रो हुन्छ।
यसरी, ‘डोमराही’ र ‘मुसहरी’ जस्ता विभाजनकारी नामलाई ‘युवा चौक’ जस्तो एकतामूलक पहिचानमा रूपान्तरण गर्नु केवल नामको फेरबदल होइन, सामाजिक सोचमा आएको सकारात्मक रुपान्तरणको प्रमाण हो। अब त्यो चौक जातीय विभाजनको होइन, सबैको साझा पहिचान र आशावादको केन्द्र बन्नेछ ।


















