नेकपा (एमाले)का स्थानीय अगुवा नेता कार्यकर्ताहरुले लक्ष्मीपुर पतारी गाउँपालिकामा भइरहेको अनियमितता रोकेर सुशासन कायम गराउन १५ बुँदे माग राख्दै धर्नामा बसेको छ ।

भदौ ५ गते गाउँपालिका भवन रहेको लक्ष्मीपुर पतारीमा विरोध प्रदर्शन गरी भदौ ६ गतेदेखि माग पूरा गराउन अनिश्चितकालसम्म धर्नामा बसेको नेकपा एमाले लक्ष्मीपुर पतारीका अगुवा नेता नेकपा एमाले जिल्ला कमिटी सदस्य देव नारायण साहले बताउनुभयो ।

२०८० सालदेखि हालसम्म भएको आय व्ययको हरहिसाव पारदर्शी गर्नुपर्ने, किसानका लागि गाउँपालिकामा आएको २१ थान ट्रान्समिटर जडान हुनुपर्ने, विगतमा यस पालिकामा रहेको ६ वटै वडाहरुमा प्रत्येक वडामा दिँदै आइरहेको ५० लाख बजेट २५ लाखमा झार्न लागेको कार्य बन्द हुनुपर्ने, लक्ष्मीपुर पतारीमा रहेको धार्मिक पर्यटकीयको रहेको पतारी पोखरीका लागि आएको तीन करोड ५० लाख बजेटमा कमिसन नआउने भए पछि कार्य अघि नबढाएको, गाउँपालिका कार्यालयसँग जोडिने चार करोड ७० लाखको काम नगरी बजेट फिर्ता गरेको भ्रष्टाचारले विकास ठप्प रहेकाले नेकपा एमालले स्थानीयहरुको गुनासोलाई ध्यानमा राखेर १५ बुँदे प्रस्तुत माग पूरा नभएसम्म आन्दोलन जारी रहने पूर्व गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताउनुभयो ।

वडा नम्बर ६ का वडाध्यक्ष ब्रम्हदेव यादवले गाउँ पालिका अध्यक्ष चतुरानन्द ठाकुरलाई बजेट पारदर्शी र विकास कार्यलाई तीव्रता दिन गरेको आग्रहलाई बेवास्ता गर्दै एक दलीय रुपमा गाउँपालिकामा भ्रष्टाचारको आखाडा बनाउँदै जान थालेपछि आन्दोलन गर्न बाध्यता भएको सुनाउनुभयो ।

यता गाउँपालिका अध्यक्ष चतुराननद ठाकुरले नेपाली कांग्रेस र एमाले केन्द्र प्रदेश र स्थानीय तहमा गठबन्धनमा रहेकोले सहमति सहकार्य गरेर जान गरेको आग्रहलाई बेवास्ता गरी झमेला सृजना गरिरहेको बताउनुभयो । अहिले पनि राखेको मागहरुमा छलपल गर्न तयार रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गर्नुभयो ।