कुलानन्द यादब - सिराहा  । आज सिरहाकाे भगवानपुर गाँउपालिका वडा नं.–१ मा भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय लहानका अनुसार बिहान करिब ६:५० बजे भगवानपुरबाट बलान खोला तर्फ जाँदै गरेको प्रदेश ०१–००१ ज ०१४० नम्बरको ई–सवारीसाधन (EV उइङ्गर) ले पैदलयात्रीलाई ठक्कर दिएको हो।


सवारीसाधन लहान–१२ का लीला पुरीका ३६ वर्षीय छोरा प्रेम लाल पुरीले चलाइरहेका थिए। सोही क्रममा बलान खोलाबाट करिब १०० मिटर पश्चिमतर्फ सडकमा पैदल हिँडिरहेका भगवानपुर गाउँपालिका–१ का ५५ वर्षीय मोहम्मद सुलेमानलाई सवारीले ठक्कर दिएको प्रहरीले जनाएको छ।


ठक्करबाट गम्भीर घाइते भएका सुलेमानलाई स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, लहान पुर्‍याइएको थियो। तर उपचारकै क्रममा बिहान ७:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ।


घटनापछि चालक प्रेम लाल पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो सवारीसाधन समेत नियन्त्रणमा राखिएको छ। प्रारम्भिक अनुसन्धानमा चालकको लापरबाहीका कारण दुर्घटना भएको आशंका गरिएको छ। विस्तृत विवरण भने थप अनुसन्धानपछि मात्र आउने प्रहरीको भनाइ छ।


स्थानीयवासीका अनुसार सो सडक खण्डमा यसअघि पनि पटक–पटक दुर्घटना हुँदै आएको छ। संकुचित सडक, चालकहरूको लापरबाही, र पैदलयात्रुका लागि सुरक्षित पदमार्ग नहुनुजस्ता कारणले दुर्घटनाको जोखिम बढेको उनीहरूको गुनासो छ।


मृतक सुलेमान गाउँमा मेहनती र इमानदार व्यक्तिका रूपमा परिचित थिए। घटनापछि गाउँभर शोकको वातावरण छाएको छ भने छिमेकीहरू अस्पतालमा भेला भई परिवारजनलाई सान्त्वना दिएको बताइन्छ।


यस दुर्घटनाले फेरि एकपटक लहानसहित सिरहामा बढ्दो सडक दुर्घटनाको समस्या उजागर गरेको छ। प्रहरी र सरोकारवाला निकायका अनुसार नयाँ मोडेलका विद्युतिय सवारीसाधन प्रयोग गर्नेहरू पर्याप्त तालिमबिनै सडकमा ओर्लनु, ट्राफिक नियमको पूर्ण पालना नगर्नु, र गति नियन्त्रणमा ध्यान नदिनु दुर्घटनाको प्रमुख कारण बनेको छ।


सडक सुरक्षा मजबुत पार्न, पैदलयात्रुका लागि सुरक्षित बाटो निर्माण गर्न तथा चालकलाई नियमित सचेतना कार्यक्रममार्फत जिम्मेवार बनाउनुपर्ने आवश्यकतामा सरोकारवालाले जोड दिएका छन्। साथै, मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।