कुलानन्द यादव / सिरहा असोज २४ — सिरहाको भगवानपुर गाउँपालिका वडा नं. १, सिनुरीया गाउँका युवाहरूले आज सामूहिक जिम्मेवारी र सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। गाउँका सक्रिय युवा ओम कुमार यादव र अरुण साहको नेतृत्वमा स्थानीय मठ–मन्दिर, सडक र आसपासका सार्वजनिक स्थलहरूमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।

सकाळदेखि नै युवाहरू टोली बनाएर सफाइमा जुटे। मठ–मन्दिर वरिपरिको फोहर हटाइ सफा वातावरण सिर्जना गरिएको छ भने सडकमा समेत फोहर संकलन र व्यवस्थापन गरिएको छ। यस अभियानमा दर्जनौं युवाहरूले उत्साहपूर्वक सहभागिता जनाए।

गाउँका बुढापाका देखि महिलासम्मले यो कदमको प्रशंसा गर्दै भने, “युवाहरूले देखाएको यो पहल साँच्चै गर्वको विषय हो। गाउँ सफा भएपछि सबैमा नयाँ उत्साह जागेको छ।”

कार्यक्रमको नेतृत्वकर्ता ओम कुमार यादवले भने, “हामीले हाम्रो गाउँलाई सफा र अनुकरणीय बनाउन सुरुवात गरेका हौं, यसमा सबैको निरन्तर सहयोग आवश्यक छ।” अरुण साहले पनि थपे, “सफाइ अभियान कुनै एकदिनको काम होइन, यो निरन्तरता पाउनुपर्छ।”

यस सरसफाइ कार्यले सिनुरीया गाउँमा एकता, जागरूकता र आत्मगौरवको नयाँ सन्देश फैलाएको स्थानीयहरूले बताएका छन्।

                 “सफाइ केवल काम होइन, संस्कार पनि हो।”