कुलानन्द यादब/ जनकपुरधाम, मधेस प्रदेश — तराई–मधेसको प्रमुख धार्मिक पर्व छठ नजिकिँदै गर्दा प्रदेशभर शान्ति–सुरक्षालाई सुनिश्चित गर्न ‘अपरेसन आस्था’ नामक विशेष सुरक्षा योजना लागू गरिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाका अनुसार छठपर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन यस योजना अन्तर्गत प्रदेशका आठै जिल्लामा करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

डिआइजी थपलियाले जानकारी दिँदै भने,

“छठपर्व आस्था र विश्वाससँग गासिएको पर्व हो। जनताको धार्मिक श्रद्धा सुरक्षित रहोस् भनेर सम्पूर्ण सुरक्षा संयन्त्र पूर्ण सतर्कताका साथ खटिएका छन्।”

उनका अनुसार, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, झैझगडा गर्ने, वा भीडभाडमा अव्यवस्था सिर्जना गर्ने सम्भावित जोखिमलाई नियन्त्रण गर्न यो योजना लागू गरिएको हो।

सुरक्षा व्यवस्थामा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोशाकका प्रहरीहरू समेत परिचालन गरिएको छ। प्रहरी बललाई छठघाट, तलाउ, नदी किनार, बजार क्षेत्र र मुख्य राजमार्गहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ।

थप निगरानीका लागि सिसीटीभी क्यामेरा, मोबाइल गस्ती टोली, र अस्थायी सुरक्षा चौकीहरू स्थापना गरी सुरक्षा सञ्जाललाई अझ सुदृढ बनाइएको छ।

प्रहरीले चेतावनी दिंदै भनेको छ-

“मदिरा सेवन गरेर सवारी चलाउने वा सार्वजनिक स्थानमा हुलदंगा गर्ने जो–कोहीमाथि कडा कानूनी कारबाही हुनेछ।”

‘अपरेसन आस्था’ मार्फत मधेस प्रदेशमा आगामी छठपर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य लिइएको प्रहरी कार्यालयले जनाएको छ।