जनकपुरधाम। मधेश प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ । नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेपछि मधेशको राजनीतिमा नयाँ मोड आएको हो ।
यसअघि मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शनिबार पदबाट राजीनामा दिएका थिए । सोही दिन उनले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो, तर आवश्यक समर्थन नपाउने देखेपछि राजीनामा दिएका थिए ।
सोनलले राजीनामा दिएपछि आइतबार रातिसम्म प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइनन् । आह्वानमा ढिलाइ भएपछि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीलगायत ६ दलले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको आह्वान हुनुपर्ने माग गरेका थिए ।
तर, आइतबार संविधानविद् र कानुनविद्हरूसँग परामर्श गरेपछि प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिन् ।
आइतबार दिउँसोदेखि नै यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने चर्चा चलेको थियो । त्यसबारे थाहा पाएपछि ६ दलले प्रदेश प्रमुखलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो निर्णय नगर्न चेतावनी दिएका थिए ।
तर, आज बिहान करिब ४ बजे प्रदेश प्रमुख भण्डारी स्वास्थ्य समस्या भएको भन्दै ‘काठमाडौं जाँदै छु’ भनेर बाहिरिएकी थिइन् । त्यसको केही समयपछि उनी महोत्तरी र सिन्धुलीको सीमामा पर्ने होटल पानसमा पुगेकी थिइन्, जहाँ उनले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथसमेत गराएकी छिन् ।
शपथ समारोहमा नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी एक सांसद सहभागी रहेको जनाइएको छ ।
यादव मुख्यमन्त्रीमा नियुक्त भएपछि सोनलले आपत्ति जनाएका छन् । उनले यो कदमबाट मधेश प्रदेशको अस्मिता समाप्त पार्न खोजिएको आरोप लगाए ।
उनले भने, ‘प्रदेश प्रमुखले लोकतन्त्र र संघीयतालाई धरापमा पार्ने काम गर्दै प्रदेशको अस्मिता समाप्त गर्न खोज्नुभएको छ । बिहान ४ बजे उहाँले उपचारका लागि काठमाडौं जाँदै छु भन्नुभयो, मैले बिदाई पनि गरेँ, तर केहीबेरमै खबर आयो– उहाँले एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरिसक्नुभयो ।’
सोनलले थपे, ‘प्रदेश प्रमुखले मधेशी जनतालाई धोका दिएकी छिन् । यसको परिणाम अब ठूलो हुनेछ ।


















