मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का नेता सरोजकुमार यादवको असंवैधानिक नियुक्ति खारेजीको माग गर्दै सात राजनीतिक दलका सांसद तथा कार्यकर्ताहरूले बुधबार बिहानदेखि शान्तिपूर्ण धर्ना सुरु गरेका छन् ।

मधेश सरकारको मुख्यालय रहेको मधेश भवनको गेट नम्बर– २ अगाडि बिहानैदेखि सुरु गरिएको धर्नामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका सांसद तथा कार्यकर्ताहरू सहभागी छन् ।

मंगलबार साँझको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनको विरोधमा सातै दलले गएराति संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका थिए । जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले अदालतले दिएको अन्तरिम आदेशप्रति सन्तुष्टि व्यक्त गर्दै कानुनी तथा सडक दुवै माध्यमबाट अधिकार प्राप्त गर्ने उद्देश्यले आन्दोलन जारी राखिने बताए ।

७४ जना सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमार्फत मुख्यमन्त्री यादवको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै तत्काल बर्खास्त गर्न माग गरिएको छ ।

यसबीच, मुख्यमन्त्री यादव बुधबार बिहान काठमाडौं प्रस्थान गरेका छन् । उनी प्रदर्शनमा घाइते भएकाहरूलाई भेट्न बिहान प्रादेशिक अस्पताल पुगेका थिए, तर घाइतेहरू गएराति नै घर फर्किसकेका थिए ।

cosmos college

स्रोतका अनुसार, यादवले मंगलबार राति मधेश भवनको मुख्य प्रवेशद्वारबाट होइन, पछाडिको बाटो भएर भवनमा प्रवेश गरी पदभार ग्रहण गरेका थिए ।