मनु यादव निरज । सिरहा। सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ कुर्सन्डी र भारतको बिहार राज्य घोडमोहना सीमाना बीचको मध्य बिन्दुमा लाग्ने साप्ताहिक हटियामा हरेक शुक्रबार र सोमबार सर्वसाधारणको उल्लेख्य भीड लग्ने गर्दछ। हटिया सञ्चालनको दोहोरो दिनमा स्थानीयवासीसँगै छिमेकी भारतीय बजारबाट समेत व्यापार–व्यवसाय तथा किनमेलका लागि मानिसहरूको बाक्लो उपस्थित रहँदै आएको छ।


हटियामा तरकारी, फलफूल, भाँडाकुडा, लत्ताकपडा, माछा–मासु लगायत दैनिक उपभोग्य सामग्री किफायती मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूको आकर्षण बढ्दै गएको व्यापारीहरूको भनाइ छ। आसपासका बजारको तुलना गर्दा मूल्य सस्तो र सामान ताजा हुने हुँदा सीमाक्षेत्रका बासिन्दा नियमित रूपमा यसै हटियामा निर्भर रहँदै आएका छन्।


दुई देशबीचको सामाजिक तथा आर्थिक सम्बन्धलाई मजबुत बनाउँदै आएको यस हटियाले स्थानीय आय–आर्जन र आर्थिक प्रवाहलाई सक्रिय बनाएको देखिन्छ। सीमाक्षेत्रका किसान तथा साना व्यापारीले उत्पादन तथा सामान बिक्री गर्न सहज वातावरण पाएका छन् भने उपभोक्ताले आवश्यक वस्तु न्यून मूल्यमा प्राप्त गर्ने सुविधा पाएका छन्।


स्थानीयवासीहरूका अनुसार हटियाको अव्यवस्थित सडक र पूर्वाधार सुधार भएमा व्यापारिक गतिविधि अझ विस्तार हुने अपेक्षा गरिएको छ। सिमानास्थित हटियाको निरन्तरता र व्यवस्थापनका लागि दुबै देशका प्रशासनले सहजीकरण गर्नुपर्ने आवाज पनि उच्चरूपमा उठ्न थालेको छ।याे समाचार मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।