मनु यादव निरज: सिरहा । मन्त्रिपरिषद्को ऐतिहासिक निर्णयसँगै सिरहाको स्वास्थ्य सेवामा नयाँ आशाको बिहानी आएको छ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको विशेष पहलमा लहानस्थित राम कुमार शारडा–उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल को जग्गा स्वामित्वसम्बन्धी चार दशक लामो कानुनी समस्या अन्ततः समाधान भएको हो।

वि.सं. २०३५ सालमा दाता परिवार र तत्कालीन सरकारबीच सम्झौता भए तापनि जग्गाको लालपूर्जा दाताकै नाममा कायम रहँदा अस्पतालको कानुनी स्वामित्व स्थापित हुन सकेको थिएन। स्वामित्व अस्पष्ट हुँदा अस्पतालको भौतिक पूर्वाधार विकास तथा स्तरोन्नति वर्षौंदेखि प्रभावित हुँदै आएको थियो।

मन्त्री गुप्ताको सक्रिय पहलमा संघीय अर्थ मन्त्रालय र मन्त्रिपरिषद्बाट विशेष निर्णय गराई अस्पतालको नामसारी प्रक्रियामा लाग्ने रु. १,३४,९५,९५९/- भन्दा बढीको पुँजीगत लाभकर छुट गरिएको हो। यस निर्णयसँगै लामो समयदेखि रोकिएको नामसारी प्रक्रिया अगाडि बढेको छ।

यसपछि दाताहरू पवन कुमार शारडा र मुरारी लाल मुरारकाको नाममा रहेको १ विघा १५ कठ्ठा १० धुर जग्गा विधिवत् रूपमा अस्पतालको स्वामित्वमा आएको छ। कानुनी स्वामित्व सुनिश्चित भएसँगै अस्पतालको दीर्घकालीन विकास र विस्तारको बाटो खुलेको छ।

सिरहा जिल्लाको पूर्वी भेगमा रहेको यो एकमात्र प्रादेशिक अस्पतालबाट करिब १० लाख जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ।

यो महत्वपूर्ण निर्णय सम्भव बनाउन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, अनिल कुमार सिंहा तथा अर्थ मन्त्री रामेश्वरप्रसाद खनालको विशेष भूमिका रहेको जनाइएको छ।

स्थानीय बासिन्दा र अस्पताल प्रशासनले यस निर्णयलाई ऐतिहासिक भन्दै नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूप्रति आभार व्यक्त गरेका छन्। उनीहरूका अनुसार यसले सिरहाको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ।