काठमाडौँ, ६ पुस । आज डिसेम्बर २१ अर्थात् वर्षकै सबैभन्दा छोटो दिन परेको छ। खगोल विज्ञानको भाषामा यस दिनलाई शीतकालीन अयनान्त भनिन्छ।

शीतकालीन अयनान्तका दिन सूर्य कर्क रेखाबाट मकर रेखातर्फ सर्दै उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ। यसका कारण पृथ्वीको उत्तरी गोलार्धमा दिनको अवधि वर्षकै सबैभन्दा छोटो र रातको अवधि सबैभन्दा लामो हुन्छ।

आज करिब ८ घण्टा दिन र १४ घण्टा रात रहने खगोलविद्हरूले बताएका छन्। दिन–रातको लम्बाइ देशको भौगोलिक अवस्थिति र टाइम जोनअनुसार केही फरक पर्न सक्ने जनाइएको छ।

यसैगरी, जुन २१ मा ग्रीष्म अयनान्त पर्दछ, जसदिन उत्तरी गोलार्धमा दिन सबैभन्दा लामो र दक्षिणी गोलार्धमा सबैभन्दा छोटो हुन्छ। खगोल विज्ञानअनुसार मार्च २१ र सेप्टेम्बर २३ मा दिन र रात बराबर हुने विषुव पर्दछ।