कुलानन्द यादव/पौष ०७ -सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–३, मझौरा (सिरहा) स्थित साहिद रमेश महतो सामुदायिक सिकाइ केन्द्रको १४औँ साधारण सभा सोमवार सफलतापूर्वक सम्पन्न भएको छ।
सिकाइ केन्द्रको आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा नवराजपुर गाउँपालिका अध्यक्ष शिवउद्गार यादव (शिवा) ज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष सुरेश कुमार यादव विशिष्ट अतिथि रहनु भएको थियो भने राम उद्गार यादव (साने) को विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि यादवले सामुदायिक सिकाइ केन्द्रले स्थानीय स्तरमा शिक्षा, चेतना र सीप विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिकाबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशिष्ट अतिथि सुरेश कुमार यादवले केन्द्रमार्फत महिलाहरू, युवा तथा पिछडिएका वर्गलाई लक्षित गरी सञ्चालन गरिएका कार्यक्रमहरू प्रभावकारी रहेको बताउनुभयो।
साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण प्रस्तुत गर्दै आगामी कार्य योजनामाथि छलफल गरिएको थियो। सहभागीहरूले सिकाइ केन्द्रलाई अझ प्रभावकारी बनाउन सुझाव समेत दिएका थिए।
कार्यक्रम राम उद्गार यादव (साने) को अध्यक्षतामा सम्पन्न भएको छ।

IMG_20251222_145405