कुलानन्द यादव/लहान, सिरहा ।
लहानका युवा तथा सामाजिक भावना भएका व्यवसायी विकास शारडाले आफ्नो जन्मदिनलाई फरक र उदाहरणीय बनाउँदै समाजसेवामा समर्पित गरेका छन्। जन्मदिनको अवसरमा उनले सिरहा जिल्लाका संघर्षशील विद्यार्थी सत्यनारायण साफीलाई एमबिबिएस अध्ययनका लागि दीर्घकालीन आर्थिक सहयोग गर्ने सम्झौता गरेका छन्। यस सहयोगअनुसार विकास शारडाले सत्यनारायण साफीलाई ५ वर्षसम्म प्रत्येक महिना रु. १० हजार प्रदान गर्नेछन्, जसको कुल रकम रु. ६ लाख पुग्नेछ।
सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका सत्यनारायण साफी दैनिक मजदुरी गरेर परिवारको दैनिकी धान्दै चिकित्सक बन्ने सपना पछ्याइरहेका विद्यार्थी हुन्। कडा मेहनत, अनुशासन र आत्मविश्वासका कारण उनले दोस्रो प्रयासमै पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि नाम निकाल्न सफल भएका थिए। तर छात्रवृत्ति पाए पनि बसोबास, खाना, किताब, कपडा तथा अन्य शैक्षिक खर्च जुटाउन उनी निरन्तर चिन्तामा थिए।
यही अवस्थालाई बुझ्दै लहानका व्यवसायी विकास शारडाले सत्यनारायणको संघर्षलाई नजिकबाट नियालेर सहयोग गर्ने निर्णय गरेका हुन्। आफ्नो जन्मदिनमा केक काटेर औपचारिक कार्यक्रम मात्र गर्ने भन्दा पनि समाजका लागि केही सकारात्मक योगदान दिनुपर्छ भन्ने सोचका साथ उनले मासिक सहयोगको सम्झौता अघि सारेका हुन्। सम्झौताअनुसार सत्यनारायणले एमबिबिएस अध्ययन अवधिभर नियमित रूपमा मासिक रु. १० हजार प्राप्त गर्नेछन्, जसले उनको पढाइलाई निरन्तरता दिन ठूलो सहजता ल्याउने विश्वास गरिएको छ।
सहयोग प्राप्त गरेपछि सत्यनारायण साफीले आफ्नो भावना व्यक्त गर्दै भने, “डाक्टर बन्ने सपना पूरा गर्ने यात्रामा धेरै चुनौती थिए। आर्थिक अभावले कहिलेकाहीँ पढाइ नै छोड्नुपर्ने डर लाग्थ्यो। विकास शारडाकाे यो सहयोगले मेरो सपना अझ मजबुत बनेको छ।” उनले सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा आफू पनि समाजका लागि केही योगदान दिने प्रतिबद्धता जनाएका छन्।
व्यवसायी विकास शारडाले पनि सहयोगको उद्देश्य स्पष्ट पार्दै भने, “जन्मदिन केवल व्यक्तिगत खुशीको दिन मात्र होइन, समाजका लागि केही गर्न सकिने अवसर पनि हो। सत्यनारायणजस्ता मेहनती र प्रतिभावान विद्यार्थीलाई साथ दिन पाउनु मेरो लागि गर्वको कुरा हो।” उनले शिक्षा क्षेत्रमा सहयोग गर्न सके देशको भविष्य उज्यालो हुने विश्वास व्यक्त गरे।
स्थानीयवासी, समाजसेवी तथा बुद्धिजीवीहरूले विकास शारडाको यो कदमलाई अत्यन्तै प्रेरणादायी बताएका छन्। उनीहरूका अनुसार यस्ता सहयोगले समाजमा सकारात्मक सोच विकास हुनुका साथै अन्य सक्षम व्यक्तिहरूलाई पनि सामाजिक जिम्मेवारी वहन गर्न प्रेरित गर्छ।
सत्यनारायण साफीको संघर्ष र उनलाई प्राप्त सहयोगले अहिले सिरहा र लहान क्षेत्रमा सकारात्मक चर्चा पाएको छ। जन्मदिनको अवसरलाई समाजसेवामा बदल्दै विकास शारडाले दिएको यो योगदानले शिक्षा, सहयोग र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको स्थानीयको भनाइ छ।


















