मनु यादव निरज : सिरहा। सिरहाको कर्जन्हा नगरपालिका–१०, मन्हर्वामा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो झण्डै ३ बजेतिर खाली अवस्थामा रहेको एक घरको खानतलासी गर्दा १० वटा जुटका बोरा भित्र राखिएको गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल २१० किलोग्राम रहेको छ। बरामद गरिएको लागुऔषधलाई रीतपूर्वक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिनुभयो।


















