मनु यादव : सिरहा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) ले युवा नेता नवीन यादवलाई पहिलो नम्बरको उम्मेदवारका रूपमा अघि सारेको छ। पार्टीभित्र सक्रिय र संगठन विस्तारमा लामो समयदेखि क्रियाशील यादवलाई उम्मेदवार बनाउने निर्णयले क्षेत्र नं. २ मा राजनीतिक सरगर्मी बढेको छ।

युवा पुस्तामाझ लोकप्रिय मानिएका यादवले शिक्षा, रोजगारी, कृषि र आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएका छन्। स्थानीय स्तरमा निरन्तर सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका उनीप्रति पार्टी नेतृत्वले विश्वास व्यक्त गरेको छ।

नेकपा एमालेले सिरहा–२ मा बलियो संगठनात्मक आधार रहेको दाबी गर्दै यसपटकको निर्वाचनमा जित सुनिश्चित गर्ने रणनीतिका साथ उम्मेदवारी अघि सारेको जनाएको छ। उम्मेदवारी घोषणापछि नवराजपुर गाउँपालिका र बरियारपट्टी साथै औरही पालिकाका क्षेत्रभरि समर्थकहरू उत्साहित देखिएका छन्।


















