नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि प्रख्यात छ । यो जिल्ला सुन्तला र अलैँचीका अलवा रुद्राक्ष खेतीको लागि प्रसिद्ध बन्दै गएको छ ।

धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्त्वपूर्ण मानिने रुद्राक्षको व्यावसायिक खेती विस्तारसँगै यहाँका किसानहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ । प्राकृतिक रूपमा रुद्राक्ष उत्पादनका लागि उपयुक्त हावापानी र माटो रहेको भोजपुर जिल्लामा यसको खेती र यसबाट हुने आम्दानी पनि बढेको छ ।

Rudrakshya_Bhojpur_NPL_BSG_0241-1768016355.jpg
‘यहाँ रुद्राक्षका करिब एक लाख विरुवा छन् र यो नगरपालिका नेपालको रुद्राक्षको राजधानी हो । रुद्राक्षको व्यापारबाट हामीले करिब सय करोड आम्दानी गरिरहेका छौँ । यहाँबाट हामीले एकदेखि २९ मुखेसम्मका रुद्राक्ष बिक्री गरेका छौँ । मुखअनुसार यसको मूल्य पनि फरक हुने गरेका छन् । यहीँबाट एक जना किसानले २१ मुखे रुद्राक्ष ७४ लाखमा पनि व्यापारीलाई बिक्री गर्नुभएको छ ।’ षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदासले नेपाल फोटो लाइब्रेरिलाई भने ।

अहिले भोजपुरका साल्पासिलिछो, षडानन्द, रामप्रसाद र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न वडाहरूमा रुद्राक्षका बगैँचा विस्तार हुँदै गएका छन् । पहिले जंगलमा प्राकृतिक रूपमा पाइने रुद्राक्ष वर्षौंदेखि व्यावसायिक रूपमा खेती गर्न थालिएको छ ।

यहाँका स्थानीय किसानहरूका अनुसार रुद्राक्ष खेती दीर्घकालीन भए पनि एकपटक उत्पादन सुरु भएपछि वर्षौंसम्म राम्रो आम्दानी लिन सकिन्छ ।

Rudrakshya_Bhojpur_NPL_BSG_0288-1768016350.jpg
यहाँ उत्पादन हुने रुद्राक्ष धार्मिक सँगसँगै सजावट र श्रृङ्गारका लागि पनि उपयोग हुँदै आएका छन् । यहाँ उत्पादित रुद्राक्षबाट माला, ब्रासलेट, कन्ठी, झुम्का, औँठी, पूजा सामग्रीलगायतका वस्तुहरू बनाउने गरिन्छ ।

हाल भोजपुरमा उत्पादन भएका रुद्राक्ष तथा सामग्रीहरू काठमाडौं, धरान, विराटनगरलगायतका क्षेत्रका साथै भारत र चीनमा समेत निर्यात हुने गरेका छन् ।