कुलानन्द यादव/पुस २९ लहान । सिरहाको लहान नगरपालिकाले “हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान” भन्ने मूल नारासहित १७ औँ नगरसभा भव्य र सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ। नगरको समग्र विकास, सुशासनको प्रवर्द्धन तथा नागरिक मैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना गरिएको नगरसभामा विविध महत्वपूर्ण विषयमा गहन छलफल गरिएको थियो।



नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख महेश प्रसाद चौधरीले लहानलाई व्यवस्थित, स्वच्छ र आर्थिक रूपमा सबल नगर बनाउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सरसफाइ, रोजगारी सिर्जना तथा सामाजिक समावेशीतालाई प्राथमिकतामा राखेर आगामी योजना तथा कार्यक्रमहरू कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। “विकास केवल भौतिक संरचनामा सीमित हुँदैन, नागरिकको जीवनस्तर सुधार नै हाम्रो प्रमुख लक्ष्य हो,” नगर प्रमुख चौधरीले भन्नुभयो।


१७ औँ नगरसभाको अवसरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने दाताहरूलाई सम्मान गरिएको छ। जे. एस. मुरारका बहुमुखी क्याम्पसका जग्गादाता मुरारीलाल मुरारकालाई विशेष सम्मान प्रदान गरिएको हो। त्यस्तै राम कुमार उमा प्रसाद स्मारक अस्पतालका जग्गादाता पवन मुरारकासहित मुरारका परिवारलाई पनि सम्मानित गरिएको छ। नगरपालिकाले सामाजिक उत्तरदायित्वका यस्ता उदाहरणलाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा अझ प्रेरणादायी कार्यहरूलाई सम्मान गर्ने प्रतिबद्धता जनाएको छ।


नगरसभामा नगर प्रमुख, उप–प्रमुख, वडाध्यक्ष, नगरसभा सदस्य, कर्मचारी, सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजका विविध क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले लहान नगरपालिकाले पछिल्लो समय हासिल गरेका विकास उपलब्धिहरूको खुलेर प्रशंसा गर्दै आगामी दिनमा अझ पारदर्शी, उत्तरदायी र परिणाममुखी कार्यशैली अपनाउन सुझाव दिएका थिए।



कार्यक्रमको खुला सत्र समापन भएसँगै मंगलबार दिउँसो १:०० बजे पुनः नगरसभाको बैठक आह्वान गरिएको जानकारी दिइएको छ। नगरसभाले नागरिकको आवश्यकता, अपेक्षा र सुझावलाई आत्मसात् गर्दै दीर्घकालीन विकासको स्पष्ट दिशासहित अघि बढ्ने साझा संकल्प समेत व्यक्त गरेको छ।

१७ औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएसँगै लहान नगरपालिका “सुन्दर, समुन्नत र सभ्य लहान” निर्माणको यात्रामा थप दृढता र आत्मविश्वासका साथ अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।