मनु यादव निरज: सिरहा । सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ३, अभयनगरमा पूर्व विनाविभागीय मन्त्री राजलाल यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्। गाउँमै पुगेर उनले ज्येष्ठ नागरिक, सामाजिक अगुवा र युवासँग खुला रूपमा संवाद गर्दै क्षेत्रका समसामयिक समस्या र विकासका आवश्यकताबारे छलफल गरेका हुन्।

IMG_20260116_141145

भेटघाटका क्रममा स्थानीयले सडक स्तरोन्नति, सिँचाइ सुविधा, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, रोजगारीका अवसर तथा युवा पलायनजस्ता विषयमा आफ्ना गुनासा र सुझाव प्रस्तुत गरेका थिए। उपस्थित नागरिकले आधारभूत पूर्वाधारमा अझै सुधार आवश्यक रहेको बताउँदै राज्यको ध्यान गाउँतर्फ केन्द्रित हुनुपर्ने माग राखे।


पूर्व मन्त्री यादवले स्थानीयको कुरा ध्यानपूर्वक सुन्दै जनताको समस्या समाधानका लागि आफू निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “विकास केवल योजना र बजेटले मात्र सम्भव हुँदैन, स्थानीयको सहभागिता र सहकार्य अनिवार्य हुन्छ। जनताको भावना बुझेर काम गर्नु नै सच्चा नेतृत्वको कर्तव्य हो।”

IMG_20260116_141116

खुला वातावरणमा सम्पन्न उक्त भेटघाट कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने, आपसी विश्वास बढाउने तथा विकासका कामलाई प्रभावकारी बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। कार्यक्रमले अभयनगर क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयको भनाइ छ।