मनु यादव निरज : सिरहा । प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) ले युवा नेता नवीन यादवलाई पहिलो नम्बरको उम्मेदवारका रूपमा अघि सारेको छ। पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका यादवलाई उम्मेदवार बनाउने निर्णयसँगै क्षेत्र नं. २ मा राजनीतिक गतिविधि तीव्र बनेको छ।
पार्टीभित्र संगठन विस्तार, जनसम्पर्क तथा युवामाझ लोकप्रिय छवि बनाएका यादवले आगामी निर्वाचनमा शिक्षा, रोजगारी, कृषि प्रवर्द्धन र आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएका छन्। स्थानीय तहमा निरन्तर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका यादवप्रति एमाले नेतृत्वले पूर्ण विश्वास व्यक्त गरेको छ।
नेकपा (एमाले) ले सिरहा–२ मा आफ्नो बलियो संगठनात्मक आधार रहेको दाबी गर्दै यसपटकको निर्वाचनमा जित सुनिश्चित गर्ने रणनीतिका साथ उम्मेदवारी अघि सारेको जनाएको छ। उम्मेदवारी घोषणा भएसँगै नवराजपुर गाउँपालिका, बरियारपट्टी तथा औरही गाउँपालिकाका विभिन्न क्षेत्रमा समर्थकहरू उत्साहित देखिएका छन्।
पार्टी स्रोतका अनुसार युवा नेतृत्वको जोश, संगठनात्मक मजबुती र स्थानीय मुद्दामा केन्द्रित एजेन्डाले यसपटक सिरहा–२ मा एमालेको उपस्थितिलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।


















