सिरहा - सिरहा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टीका संसदीय उम्मेदवार रामचन्द्र यादवको चुनावी अभियान दिनप्रतिदिन गति लिन थालेको छ। गाउँपालिका/नगरपालिका अन्य गाउँ - गाँउ देखि टोल - टोल सम्म विभिन्न बस्तीमा घरदैलो गर्दै जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिँदै यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।


गाउँघरको चौतारो र परम्परागत वातावरण मै बसेर उनले स्थानीय नागरिकका समस्या, अपेक्षा र सुझाव सुन्ने क्रममा विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्राथमिकता दिने स्पष्ट प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा ज्येष्ठ नागरिक देखि युवा सम्मको उल्लेखनीय सहभागिताले चुनावी माहोललाई थप जोशिलो बनाएको छ।


यादवले मतदाता समक्ष आफ्नो चुनाव चिन्ह तारा छापमा मतदान गरेर परिवर्तनको अभियानमा साथ दिन आग्रह गरे। स्थानीयहरूले पनि खुलेर आफ्ना धारणा व्यक्त गर्दै, यसपटक विकासमुखी र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याएका छन्।


गाउँघरको न्यानो वातावरणमा भएको यस जनसम्पर्क कार्यक्रममा उम्मेदवार र मतदाता बीचको दूरी घटेको र चुनावी गतिविधि अझ प्रभावकारी बनेको स्थानीयहरूको भनाइ छ। चुनाव नजिकिँदै जाँदा सिरहा क्षेत्र नं. १ मा राजनीतिक उत्साह र सक्रियता उल्लेखनीय रूपमा बढिरहेको छ।