कुलानन्द यादव सिरहा 

सिरहा क्षेत्र नं. २ को राजनीतिक माहोललाई नयाँ उचाइमा पुर्‍याउने गरी दर्जनौं नेता तथा कार्यकर्ताहरूले जसपा नेपाल परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। स्थानीयस्तरमै व्यापक चर्चा र उत्साहका साथ सम्पन्न यो कार्यक्रमले सिराहा क्षेत्र नं. २ मा एमालेको संगठनात्मक आधार थप मजबुत बन्दै गएको स्पष्ट संकेत दिएको छ।

बरियारपट्टी गाउँपालिका वडा नं. १ अन्तर्गत नर्गी चोकमा आयोजित भव्य कार्यक्रममा प्रमुख अतिथिका रूपमा रामअवतार यादव, सुखिपुर नगरपालिकाका नगरप्रमुख, सहभागी हुनु भएको थियो। उहाँले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई पार्टीको झण्डा ओढाएर औपचारिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा स्वागत गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नविन यादव, सिराहा क्षेत्र नं. २ का संसदीय उम्मेदवार तथा कर्मठ युवा नेता, सहभागी रहनु भएको थियो। सम्बोधनका क्रममा उहाँले विकास, सुशासन र जनताको पक्षमा एमाले सधैं उभिने पार्टी भएको उल्लेख गर्दै नवप्रवेशीहरूलाई पार्टीभित्र सम्मान, जिम्मेवारी र अवसर सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस कार्यक्रमको विशेषता भनेको स्थानीय नेतृत्वको सक्रिय भूमिका हो। कार्यक्रममा इन्जिनियर सुभाषचन्द्र यादव, जो युवा संघका अध्यक्ष समेत हुनुहुन्छ, उहाँको रोहबरमा ठूलो संख्यामा कार्यकर्ताहरूले पार्टी प्रवेश गरेका हुन्। उहाँले युवाहरूको आशा र भरोसाको केन्द्र एमाले बन्दै गएको भन्दै, विचार र संगठन दुवै हिसाबले पार्टी बलियो बन्दै गएको बताउनुभयो।

नवप्रवेशी कार्यकर्ताहरूले लामो समयदेखि जसपा नेपाल मा रहँदा जनताको अपेक्षा अनुसार काम हुन नसकेको गुनासो राख्दै, अब एमालेको नीति, नेतृत्व र कार्यक्रमले मात्र मुलुक र स्थानीय तहको समृद्धि सम्भव हुने विश्वास व्यक्त गरे। उनीहरूले एमालेको राष्ट्रवादी सोच, विकासमुखी दृष्टिकोण र अनुशासित संगठनबाट प्रभावित भएर पार्टी प्रवेश गरेको जनाए।

स्थानीय बासिन्दा र समर्थकहरूको उल्लेख्य सहभागितासँगै सम्पन्न उक्त कार्यक्रमले सिराहा क्षेत्र नं. २ मा राजनीतिक तरंग ल्याएको छ। आगामी दिनमा एमाले अझ संगठित र जनमुखी रूपमा अगाडि बढ्ने संकेतका रूपमा यो पार्टी प्रवेश कार्यक्रमलाई हेरिएको छ। स्थानीय स्तरमै “अब परिवर्तनको लहर एमालेबाटै” भन्ने चर्चा चुलिएको छ, जसले आगामी राजनीतिक समीकरणलाई थप रोचक बनाउने देखिन्छ