सिरहा — जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका पूर्व युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
मन्त्री पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लडेका गुप्ताले ४१ हजार ३ सय ३३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७ सय ८४ मत पाएर दोस्रो स्थानमा रहे। यस्तै, निवर्तमान सांसद नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८ सय ६६ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८ सय ५३ मत प्राप्त गर्दा जसपा नेपालका सत्यनारायण यादवले २ हजार २ सय ८५ मत पाएका छन्।
२०५४ साउन ७ गते जन्मिएका २८ वर्षीय बब्लु गुप्ता लहान नगरपालिका–२३ गाढाका स्थायी बासिन्दा हुन्। अविवाहित गुप्ता हाल जनस्वास्थ्य विषयमा स्नातक अध्ययनरत छन्। उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेका उनी पढाइसँगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्।
जेन–जी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका गुप्ता सोही आन्दोलनको प्रतिनिधित्व गर्दै अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री बनेका थिए। मन्त्री रहँदा उनले लामो समयदेखि अलपत्र अवस्थामा रहेको लहानस्थित रामकुमार सारडा–उमाप्रसाद मुरारका स्मारक अस्पतालको जग्गा नामसारी प्रक्रिया अघि बढाएका थिए।
त्यसैगरी सिरहा–धनुषा जोड्ने कमला पुल पुनर्निर्माण तथा नदी डाइभर्सन निर्माणका लागि समेत पहल गरेका थिए।
सामाजिक अभियन्ताका रूपमा गरेको काम र मन्त्री हुँदा अघि बढाएका योजनाको परिणामस्वरूप जनताले आफूलाई विजयी बनाएको गुप्ताले बताएका छन्।


















