सिराहा — नेपाल पत्रकार महासंघ सिराहा शाखाले पत्रकार भोगेन्द्र कुमार यादवमाथि भएको गालीगलौज तथा दुर्व्यवहारप्रति आपत्ति जनाएको छ।

महासंघले सार्वजनिक सरोकार र सरकारी सम्पत्तिको सम्भावित दुरुपयोगसम्बन्धी समाचार प्रकाशन गरेपछि आफूलाई नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगारको स्वकीय सचिव बताउने कृष्ण कुमार यादवले पत्रकार यादवमाथि दुर्व्यवहार गरेको जनाएको हो।

IMG-20260518-WA0000

महासंघले सत्यतथ्यमा आधारित समाचार प्रकाशन गर्नु पत्रकारको पेशागत दायित्व भएको उल्लेख गर्दै समाचारकै विषयलाई लिएर धम्की दिने, मानसिक दबाब सिर्जना गर्ने तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कार्य अस्वीकार्य भएको जनाएको छ।

महासंघका सचिव मुकेश कुमार यादवद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।