सिरहा– प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जेठ ३ गते साँझ सिरहा नगरपालिका–१४ खिरौनामा चेकजाँचका क्रममा मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिइएको हो।

माडरतर्फबाट सिरहा आउँदै गरेको ज ४ प १३८८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा गोलबजार नगरपालिका–३ निवासी ३१ वर्षीय सरोज विक र २६ वर्षीय राजु लामाको साथबाट ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सरोज विकको साथबाट २०० मिलिग्राम र राजु लामाको साथबाट ५ ग्राम १०० मिलिग्राम पदार्थ फेला परेको हो। बरामद पदार्थको कुल परिमाण ५ ग्राम ३०० मिलिग्राम रहेको छ।

प्रहरीले मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा अनुसन्धान अघि बढाएको छ। सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।