कुलानन्द यादव :- राजविराज, असार ३ गते। ट्राफिक नियमको पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह २०८३ अन्तर्गत राजविराजमा भव्य प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, राजविराजको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको सहकार्यमा आयोजित उक्त प्रभातफेरीमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, विभिन्न संघसंस्था, विद्यार्थी, शिक्षक तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

"ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई बचाऔं" भन्ने मूल नारासहित निकालिएको प्रभातफेरीले राजविराज नगरका प्रमुख सडकहरू परिक्रमा गर्दै सडक सुरक्षा, सवारी अनुशासन र ट्राफिक सचेतनाको सन्देश प्रवाह गरिएको छ।
कार्यक्रममा सहभागीहरूले ट्राफिक नियमको पालना, हेल्मेटको अनिवार्य प्रयोग, सिटबेल्ट बाँध्ने बानी, मदिरा सेवन गरी सवारी नचलाउने तथा पैदलयात्रीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने विषयमा जनचेतनामूलक सन्देश दिएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताहभर विभिन्न जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, प्रशिक्षण तथा सडक सुरक्षा सम्बन्धी अभियान सञ्चालन गर्ने जनाएको छ। बढ्दो सवारी चापसँगै दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको प्रहरीको भनाइ छ।
स्थानीयवासीहरूले यस्ता कार्यक्रमले नागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। ट्राफिक सप्ताह अन्तर्गत सञ्चालन गरिएका गतिविधिले सुरक्षित, अनुशासित र दुर्घटनारहित समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


















