सिरहा । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिरहा नगरपालिका–२१ लगडीगोठबाट प्रहरीले गोली प्रहार गरी कुख्यात भारतीय लागुऔषध कारोबारीसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार प्रतिबन्धित लागुऔषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा आइतबार साँझ संयुक्त टोलीले अपरेशन चलाएको थियो। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पौदमाहा ग्राम पञ्चायत–२ जोगिया टोलका २८ वर्षीय रञ्जितकुमार पासवान उर्फ ‘छोटु’ र एक नाबालक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक नरेश लिम्बूका अनुसार पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेका थिए। त्यसक्रममा प्रहरीले एक राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका पासवानको दाहिने पिँडुलामा चोट लागेको छ। उनको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ।

घटनामा ढुंगामुढाबाट प्रहरी जवान हृदयनारायण ठाकुरसमेत सामान्य घाइते भएका थिए। उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्।

जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार पक्राउ परेकाहरूको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको छ।

प्रहरीका अनुसार पासवान सीमावर्ती क्षेत्रका कुख्यात लागुऔषध कारोबारी हुन्। प्रारम्भिक अनुसन्धानमा उनले हालसम्म करिब तीन करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउनसुगर बिक्री गरेको खुलेको छ। पक्राउ परेका व्यक्तिहरू र उनीहरूको सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।