काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्व चयनका लागि अपराह्न उम्मेदवारी दर्ता हुँदै छ ।
केन्द्रीय निर्वाचन आयोगले सभापति, पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ताका लागि आवश्यक शुल्क, प्रस्तावक, समर्थक र कागजातको सूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार सभापतिको उम्मेदवार बन्न ५१ हजार रुपैयाँ शुल्क लाग्ने छ । त्यस्तै, एक जना प्रस्तावक र ५१ जना समर्थक चाहिने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, पदाधिकारीका लागि ४१ हजार रुपैयाँ शुल्क तोकिएको छ । उनीहरूको हकमा प्रस्तावक एक जना र समर्थक २१ जना चाहिन्छ । त्यस्तै, केन्द्रीय सदस्यको उम्मेदवार बन्न २१ हजार शूल्क, १ जना प्रस्तावक र २१ जना समर्थक चाहिन्छ ।
उम्मेदवारी दर्ताका लागि विवरण भरिएको उम्मेदवारी मनोनयन पत्र फाराम, उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, अनुशासन कारबाहीमा नपरेको स्व–घोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो २ प्रति आवश्यक छ ।
रास्वपमा कुनै पनि पदको उम्मेदवार अर्को कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बस्न पाइने छैन । कोही कसैको प्रस्तावक वा समर्थक बसेमा उम्मेदवारी खारेज हुने निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य चयन गरिने छ । एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चुनिनेछन् । रास्वपामा सभापति रवि लामिछाने दोहोरिने तयारीमा छन् ।
दोस्रो चरणमा पदाधिकारी चयनका लागि निर्वाचन हुने छ । पार्टीमा एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिलासहित), दुई महामन्त्री, ५ सहमहामन्त्री, एक कोषाध्यक्ष, २ सहकोषाध्यक्ष र एक प्रवक्ता छन् ।
पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि दोस्रो चरणको निर्वाचन तालिका सार्वजनिक गरिनेछ ।




















