सिरहा — इलाका प्रहरी कार्यालय गोलबजारमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघका अनुसार असार १३ गते न्यूज २४ टेलिभिजनका संवाददाता दिलीप सहनी मार्भल कम्पनीको नाममा बिक्री–वितरण भइरहेको भनिएको डुप्लिकेट पाइपसम्बन्धी विषयमा भिडियो रिपोर्टिङ गरिरहेका बेला आफूलाई कम्पनीको प्रशासन प्रमुख बताउने दीपक नामका व्यक्तिले समाचार तत्काल प्रसारण नगर्न दबाब दिएको आरोप छ।
त्यसपछि इलाका प्रहरी कार्यालय गोलबजारभित्र रहेका सादा पोशाकका प्रहरी कर्मचारी तथा एक जना प्रहरी सहायक निरीक्षक (सई) ले पत्रकारलाई धकेल्ने, प्रयोगमा रहेको माइक र मोबाइल खोस्ने प्रयास गर्ने तथा समाचार संकलन गर्न लिखित अनुमति माग्दै अवरोध गरेको विषय सार्वजनिक भएको महासंघले जनाएको छ। घटनाको भिडियो प्रमाणसमेत रहेको दाबी विज्ञप्तिमा गरिएको छ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीलाई निर्भीक रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने जनाएको छ। पत्रकारमाथि हुने कुनै पनि प्रकारको अवरोध, दबाब वा दुर्व्यवहार लोकतान्त्रिक मूल्य–मान्यता र प्रचलित कानुनविपरीत हुने महासंघको भनाइ छ।
महासंघका अध्यक्ष मनोज बनैता यादवद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। साथै भविष्यमा पत्रकारले पेशागत जिम्मेवारी निर्वाह गर्ने क्रममा यस्ता घटना दोहोरिन नदिन नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायले आवश्यक वातावरण सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।




















