सिरहामा ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ
सिरहा – सिरहाको मिर्चैया नगरपालिका–५ स्थित थाना चोकबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार दिउँसो करिब ३ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय राहुल कुमार साहलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिई खानतलासी गरेको थियो।
प्रहरीले उनको साथबाट ५५ वटा साना प्लास्टिकका प्याकेटमा राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थको तौल प्लास्टिकसहित ८ ग्राम ९० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ४० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
यसैगरी, उनको साथबाट नगद २ हजार ६२० रुपैयाँ पनि बरामद भएको छ।
पक्राउ परेका साहलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय मिर्चैयामा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।




















