सिरहा। सिरहाको भगवानपुर गाउँपालिकामा सञ्चालित विकास योजनाको पारदर्शिता र सूचना प्रवाहमाथि प्रश्न उठ्न थालेको छ। गाउँपालिका अध्यक्ष उग्र नारायण यादव तथा प्रमुख प्रशासनिक अधिकृत प्रमोद साहसँग गाउँपालिकाका गतिविधि र विकास योजनाबारे आधिकारिक जानकारी लिन पत्रकार मनु यादव निरजले पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गरे पनि फोन नउठेपछि सूचना प्रवाह र जनप्रतिनिधिको जवाफदेहितामाथि प्रश्न उठेको हो।
पत्रकार मनु यादव निरज, जो Prime TV का रिपोर्टर, ABNews24K अनलाइन र पत्रिका का सञ्चालक–अध्यक्ष तथा मध्यान्ह राष्ट्रिय दैनिक का संवाददाता हुन्, उनले गाउँपालिका नेतृत्वसँग ३ दिन देखि प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्दा पनि कुनै प्रतिक्रिया प्राप्त हुन सकेन।
यता गाउँपालिकाभित्र विभिन्न विकास निर्माणका काम भइरहे पनि अधिकांश योजना स्थलमा योजना सम्बन्धी विवरण खुल्ने होर्डिङ बोर्ड राखिएको देखिँदैन। सार्वजनिक निर्माणका योजनामा योजना, लागत, ठेकेदार, कार्य अवधि, बजेट स्रोत लगायतका विवरण सार्वजनिक गर्नु पारदर्शिता र सार्वजनिक जवाफदेहिताको आधारभूत अभ्यास मानिन्छ।
स्थानीयवासीका अनुसार योजना सम्बन्धी विवरण सार्वजनिक नहुँदा कुन योजना कति लागतमा, कसरी र कुन निकायमार्फत सञ्चालन भइरहेको छ भन्ने जानकारी पाउन कठिन भएको छ। यसले विकास निर्माणप्रति जनविश्वास र सार्वजनिक निगरानीमा समेत असर परेको उनीहरूको भनाइ छ।
स्थानीय सरोकारवालाले गाउँपालिका नेतृत्व र प्रशासनले सञ्चारमाध्यम तथा नागरिकका जिज्ञासाको समयमै जवाफ दिई सबै विकास योजनामा सूचना बोर्ड राखेर पारदर्शिता र सुशासन सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।




















