सिरहा — प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति सिरहाले भगवानपुर गाउँपालिकामा समाचार संकलनका क्रममा पत्रकारमाथि अवरोध भएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
समितिले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य पत्रकार मनु यादव निरज र पत्रकार कुलानन्द यादव सार्वजनिक सरोकारसँग सम्बन्धित विषयको समाचार संकलन गर्न जाँदा गाउँपालिकामा अवरोध, धक्कामुक्की, क्यामेरा बन्द गर्न दबाब तथा कार्यालय प्रवेशमा रोक लगाइएको आरोप उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार पत्रकारहरूले गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, उपाध्यक्षका श्रीमान् बुनिया लाल यादव तथा अन्य व्यक्तिहरूको उपस्थितिमा समाचार संकलनमा अवरोध गरिएको, क्यामेरा खोस्ने प्रयास गरिएको र गाउँ प्रहरीमार्फत कार्यालय प्रवेशमा रोक लगाइएको दाबी गरेका छन्। प्रेस मञ्च नेपालले यी आरोप गम्भीर प्रकृतिका भएकाले निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने जनाएको छ।
संस्थाले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आग्रह गर्दै सार्वजनिक निकायमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई अवरोध गर्नु लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र पारदर्शिताविपरीत हुने उल्लेख गरेको छ।

प्रेस मञ्च नेपालले घटनाको सत्यतथ्य तत्काल निष्पक्ष रूपमा छानबिन गरी सार्वजनिक गर्न, आरोप पुष्टि भए कानुनबमोजिम कारबाही गर्न तथा पत्रकारले निर्भय वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न नेपाल सरकार, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।
विज्ञप्तिमा सार्वजनिक निकायहरूले प्रेसलाई लोकतन्त्रको उत्तरदायी साझेदारका रूपमा सम्मान गर्नुपर्ने उल्लेख गर्दै पत्रकारमाथि हुने कुनै पनि प्रकारको दबाब, धम्की वा अवरोध अस्वीकार्य रहेको जनाइएको छ।
प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति सिरहाका अध्यक्ष महेश सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि संस्था सदैव प्रतिबद्ध रहने र आवश्यक परे थप कानुनी तथा संस्थागत पहलसमेत गर्ने उल्लेख छ।




















