कुलानन्द यादव :- सिराहा असार ३०/
भगवानपुर गाउँपालिका–१खेतीपातीको मुख्य सिजनमा किसानले मलखाद नपाएको भन्दै भगवानपुर गाउँपालिका–१ का आक्रोशित किसानहरूले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
आन्दोलनरत किसानहरूको आरोप अनुसार वडा कार्यालयले मलखाद वितरणमा चरम पक्षपात गरेको छ। उनीहरूका अनुसार वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष उग्रनारायण यादव निकट कार्यकर्ताहरूलाई मात्र मलखाद उपलब्ध गराइएको छ भने वास्तविक किसानहरूलाई खाली हात फर्काइएको छ।

स्थानीयको दाबी छ कि केही नेताहरूले रातिको समयमा आफ्नै घरका लागि मलखाद लगे, तर दिनभर लाइनमा बसेका किसान भने मलखाद नपाई निराश भएर फर्किन बाध्य भए। "हामी खेत जोत्ने किसान हौं, तर मलखाद भने पहुँचवालाले मात्रै पाए," आन्दोलनमा सहभागी किसानहरूले गुनासो गरेका छन्।
मलखाद वितरणमा पारदर्शिता र समानता नभएको भन्दै किसानहरूले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा वास्तविक किसानलाई तत्काल मलखाद उपलब्ध गराउन माग गरेका छन्।
उक्त घटनाप्रति वडा कार्यालय तथा गाउँपालिका नेतृत्वको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।




















