- रास्वपा सभापति जयनाथ यादवको पहल र सांसद शिवशंकर यादवको विशेष सहयोगमा ट्रान्सफर्मर जडान
कुलानन्द यादव :सिराहा, साउन १, २०८३
सिराहाको नवराजपुर गाउँपालिकामा लामो समयदेखि विद्युत् अभावका कारण सास्ती खेपिरहेका किसानका लागि राहतको खबर आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवराजपुर गाउँपालिका सभापति जयनाथ यादवको सक्रिय पहल तथा प्रतिनिधिसभा सदस्य शिवशंकर यादव (शिव)को विशेष सहयोगमा वडा नं. ५ झाझपट्टीमा करिब दुई वर्षदेखि जलेर बन्द अवस्थामा रहेको ट्रान्सफर्मर हटाएर नयाँ ट्रान्सफर्मर जडान गरी सञ्चालनमा ल्याइएको छ।

दुई वर्षसम्म ट्रान्सफर्मर नचल्दा स्थानीय किसानहरूले सिँचाइ, खेतीपाती तथा दैनिक विद्युत् आपूर्तिमा ठूलो समस्या भोग्दै आएका थिए। विशेषगरी धान तथा अन्य बालीको सिजनमा विद्युत्को अभावले उत्पादनमा प्रत्यक्ष असर परेको स्थानीयहरूको गुनासो थियो। नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएपछि किसानहरूमा उत्साह छाएको छ भने सिँचाइ कार्य सहज हुने अपेक्षा गरिएको छ।
सभापति जयनाथ यादवका अनुसार किसानहरूको समस्यालाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरेपछि ट्रान्सफर्मर जडान सम्भव भएको हो। उनले वडा नं. ३ फुलबरियाका लागि पनि नयाँ ट्रान्सफर्मर आइपुगेको जानकारी दिँदै केही दिनभित्र जडान गरी सञ्चालनमा ल्याइने बताए।

उनका अनुसार यसअघि नै वडा नं. २ मझौरा तथा वडा नं. १ कर्मनिया र भगवतीपुरमा जलेका ट्रान्सफर्मरहरू परिवर्तन गरी सञ्चालनमा ल्याइसकिएको छ। गाउँपालिकाभित्र विद्युत् सेवाको पहुँच विस्तार गर्दै किसानलाई सहज रूपमा सिँचाइ सुविधा उपलब्ध गराउने अभियान निरन्तर जारी रहने उनले बताए।
सभापति यादवले भने, "किसानको सहज खेतीपाती, नियमित विद्युत् आपूर्ति र समृद्ध नवराजपुर निर्माणका लागि हाम्रो पहल निरन्तर जारी रहनेछ। जनताको समस्या समाधान नै हाम्रो पहिलो प्राथमिकता हो।"

स्थानीय किसानहरूले लामो समयदेखि समाधान हुन नसकेको समस्या अन्ततः समाधान भएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूका अनुसार नियमित विद्युत् आपूर्ति भएपछि सिँचाइ सहज हुने, कृषि उत्पादन बढ्ने र ग्रामीण जनजीवन थप सहज बन्ने विश्वास लिइएको छ।
स्थानीयवासीहरूले जनप्रतिनिधि र राजनीतिक नेतृत्वले जनताका आधारभूत समस्यालाई प्राथमिकतामा राखेर परिणाममुखी काम गर्नु स्वागतयोग्य भएको बताएका छन्। उनीहरूले आगामी दिनमा पनि विद्युत्, सिँचाइ र कृषि पूर्वाधारका क्षेत्रमा यस्तै सक्रिय पहलको निरन्तरता रहने अपेक्षा गरेका छन्।

नवराजपुर गाउँपालिकामा ट्रान्सफर्मर प्रतिस्थापनको यो अभियानलाई ग्रामीण विद्युत् सेवा सुधार, कृषि उत्पादन वृद्धि र किसानको जीवनस्तर उकास्ने सकारात्मक कदमका रूपमा स्थानीयहरूले लिएका छन्। विद्युत् जस्ता आधारभूत सेवाको सहज उपलब्धताले गाउँको आर्थिक तथा कृषि विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।




















