जनकपुरधाम–१६ मा पाँच सयभन्दा बढी लाभग्राही सम्मानित

जनकपुरधाम — धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने पाँच सयभन्दा बढी ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको छ।

वडा कार्यालयले मंगलबार आयोजना गरेको कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले उनीहरूलाई छाता, झुल र चादर प्रदान गर्दै सम्मान गरेका हुन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुइटेलले समाजको विकास र सामाजिक सद्भावका लागि ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिप्रतिको सम्मान अपरिहार्य रहेको बताए। यस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने उनको भनाइ थियो।

उनले ज्येष्ठ नागरिकलाई परिवारको अनुभव र ज्ञानको स्रोतका रूपमा सम्मान गर्नुपर्ने उल्लेख गर्दै घरपरिवारबाटै उनीहरूको उचित कदर हुनुपर्नेमा जोड दिए।

वडा अध्यक्ष रामचन्द्र पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले वडाले सञ्चालन गर्दै आएका सामाजिक कार्यक्रमको प्रशंसा गरेका थिए। उनीहरूले यस्ता अभ्यासले अन्य वडालाई पनि सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।