सिराहा — मधेश प्रदेश प्रहरी कार्यालयले “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३” अनुसार इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई २०८३ असार महिनाको 'सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)' घोषणा गरेको छ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओम प्रसाद अधिकारीले प्रहरी निरीक्षक मल्ललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरीका अनुसार लागूऔषध नियन्त्रण, सुशासन प्रवर्द्धन, घरेलु हिंसा न्यूनीकरण तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी र परिणाममुखी कार्यसम्पादन गरेकाले मल्ललाई असार महिनाको उत्कृष्ट प्रदेश प्रहरीका रूपमा छनोट गरिएको हो।
प्रहरी निरीक्षक मल्लले महेशपुर पतार क्षेत्रमा अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवामा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको सक्रिय कार्यशैली र सेवाप्रतिको प्रतिबद्धताको स्थानीयवासी तथा सरोकारवालाले समेत प्रशंसा गर्दै आएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्दै आएको छ।




















