कुलानन्द यादव : सिरहा ।सिरहाको भगवानपुर गाउँपालिका–१ कल्याणपुरमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ। घटनापछि आक्रोशित स्थानीयले भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गर्दै उपचारमा भएको कथित लापरबाहीको विरोध गरेका छन्।
मृतक रोशन मण्डल भगवानपुर गाउँपालिका–१ कल्याणपुर निवासी सैनिक मण्डलका नाति तथा बालन बिहुल गाउँपालिका निवासी अरुण मण्डलका छोरा हुन्।
स्थानीयका अनुसार बालकलाई भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्र परिसरमै सर्पले टोकेको थियो। त्यसपछि उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिए पनि आवश्यक औषधि, सर्पदंशको आकस्मिक उपचार तथा विशेषज्ञ सेवा उपलब्ध नभएको उनीहरूको आरोप छ।
स्थानीयले स्वास्थ्य केन्द्रमा एम्बुलेन्स हुँदाहुँदै पनि बिरामीलाई तत्काल उच्च उपचार केन्द्रमा नपठाइएको दाबी गरेका छन्। उपचारमा ढिलाइ भएपछि बालकलाई थप उपचारका लागि सिटी अस्पतालतर्फ लगिएको थियो। तर अस्पताल पुग्नुअघि नै बाटोमै उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ।
घटनापछि ठूलो संख्यामा स्थानीय स्वास्थ्य केन्द्र पुगेका थिए। उनीहरूले स्वास्थ्य संस्थाको गैरजिम्मेवारीका कारण बालकले ज्यान गुमाउनुपरेको भन्दै विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा स्वास्थ्य केन्द्रमा तोडफोड भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ।
स्थानीयले भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक उपचार सेवा प्रभावकारी नभएको, सर्पदंशजस्ता संवेदनशील घटनाका लागि आवश्यक औषधि र जनशक्तिको अभाव रहेको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा स्वास्थ्य सेवामा तत्काल सुधारको माग गरेका छन्।
घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ।




















