सिरहा— सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहाका विभिन्न स्थानमा प्रदर्शन भएको छ।
मंगलबार गोलबजार नगरपालिका–८ को पुरानो चोक, चोहर्वामा स्थानीयले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्। प्रदर्शनका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो।
प्रदर्शनकारीहरूले प्रहरी दमन बन्द गर्न, घटनाको निष्पक्ष अनुसन्धान गर्न तथा मृतकलाई न्याय दिलाउन सरकारसँग माग गरेका थिए।
यसअघि सोमबार कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्ग, गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ कसहा चोकमा पनि विरोध प्रदर्शन भएको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार प्रदर्शनका कारण करिब आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो। आन्दोलनकारीसँगको छलफलपछि सडक पुनः सञ्चालनमा आएको उनले बताए।
सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनापछि सुनसरीसहित मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेको छ।




















