सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–३ का वडा अध्यक्ष पदका प्रत्याशी तथा युवा नेता राम सुरेश यादव ले इलाका प्रहरी कार्यालय झाझपट्टीलाई आफ्नो व्यक्तिगत स्रोतबाट सिलिङ फ्यान र स्ट्यान्ड फ्यान सहयोग गरेका छन्।

प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सहज कार्य वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको यादवले बताए। “२४औँ घण्टा जनताको शान्ति सुरक्षा र सेवामा खटिने नेपाल प्रहरीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ,” उनले भने।

स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सार्वजनिक निकायलाई सहयोग गर्ने यादवको पहललाई सकारात्मक रूपमा हेरिएको छ। सीमित स्रोतसाधनबीच सेवा प्रवाह गरिरहेका सरकारी निकायलाई नागरिक तहबाट हुने यस्ता सहयोगले सेवा प्रवाहलाई थप सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

स्थानीय बासिन्दाले पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक संस्थाको आवश्यकतालाई सम्बोधन गर्ने यस्तो कार्य अनुकरणीय भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले विकास, सामाजिक उत्तरदायित्व र सहकार्यको संस्कृतिलाई प्रवर्द्धन गर्न यस्ता पहलले सकारात्मक सन्देश दिने बताएका छन्।

युवा नेता यादवले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य,सडक कृषि लगायत, सुरक्षा तथा सामाजिक क्षेत्रमा आवश्यक सहयोग र जनसेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।