काठमाडौं । क्याल्सियमयुक्त खानेकुराको नियमित सेवनले आन्द्राको क्यान्सरको जोखिम घटाउन सहयोग पुग्ने नयाँ अध्ययनले देखाएको छ।

अक्सफोर्ड विश्वविद्यालय र क्यान्सर रिसर्च यूकेको सहकार्यमा गरिएको अध्ययनमा पाँच लाखभन्दा बढी महिलाको १६ वर्षभन्दा लामो समयको आहारसम्बन्धी तथ्यांक विश्लेषण गरिएको थियो। अध्ययनले दैनिक खानामा थप ३०० मिलिग्राम क्याल्सियम सेवन गर्दा आन्द्राको क्यान्सरको जोखिम करिब १७ प्रतिशतसम्म कम हुनसक्ने देखाएको हो।

अनुसन्धानकर्ताका अनुसार ठूलो गिलास दूधबाट करिब ३०० मिलिग्राम क्याल्सियम प्राप्त गर्न सकिन्छ। दूध, दही र चीजबाहेक हरियो सागपात, नट्स, बियाँ, क्याल्सियमयुक्त वनस्पतिजन्य पेय तथा केही अन्य खाद्य पदार्थबाट पनि क्याल्सियम प्राप्त गर्न सकिन्छ।

अनुसन्धानको नेतृत्व गरेका अक्सफोर्ड विश्वविद्यालयका किरेन पापिअरका अनुसार क्याल्सियमको कमीका कारण हुनसक्ने आन्द्राको क्यान्सर रोकथाममा दुग्धजन्य पदार्थको सम्भावित भूमिकाबारे थप प्रमाण प्राप्त भएको छ।

अध्ययनले बिहानको खानामा अन्न, फलफूल, फाइबर र भिटामिन सीयुक्त खानेकुराको सेवनले पनि आन्द्राको क्यान्सरको जोखिम घटाउन सहयोग गर्ने देखाएको छ।

यसविपरीत अत्यधिक मदिरा, रातो मासु र प्रशोधित मासुको सेवनले आन्द्राको क्यान्सरको जोखिम बढाउन सक्ने अध्ययनले जनाएको छ। दैनिक करिब २० ग्राम मदिरा सेवन गर्दा जोखिम १५ प्रतिशतसम्म बढ्नसक्ने तथा दैनिक करिब एक औँस रातो वा प्रशोधित मासु सेवन गर्दा जोखिम ८ प्रतिशतसम्म बढ्नसक्ने अध्ययनमा उल्लेख छ।

विशेषज्ञहरूका अनुसार आन्द्राको क्यान्सरको जोखिम व्यक्तिको उमेर, जीवनशैली, खानपान, तौल र आनुवंशिक अवस्थालगायत विभिन्न पक्षमा निर्भर हुन्छ। त्यसैले कुनै एक खाद्य पदार्थको सेवनलाई मात्र क्यान्सर रोकथामको निश्चित उपाय मान्न नहुने उनीहरूको भनाइ छ।

आन्द्राको क्यान्सरका सम्भावित लक्षणमा दिसाको बानीमा परिवर्तन, लगातार कब्जियत वा पखाला, दिसामा रगत देखिनु, कारणबिनै तौल घट्नु, निरन्तर थकान तथा श्वास फेर्न गाह्रो हुनु रहेका छन्।

यस्ता लक्षण देखिएमा समयमै चिकित्सकसँग परामर्श गरी आवश्यक स्वास्थ्य परीक्षण गराउन विशेषज्ञहरूले सुझाव दिएका छन्।